डाटा हराएपछि लोकसेवा आयोग पुनःदरखास्त आह्वानको प्रक्रियामा
काठमाडाैं | बैशाख १८, २०८०
काठमाडौं: लोकसेवा आयोगले परीक्षार्थीले दिएको आवेदनको डाटा हराएपछि पुनः दरखास्त आह्वान गर्ने भएको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि आयोग समस्यामा परेको हो। आयोगले दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्दै यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने भएको हो।
‘पूर्वप्रकाशित उक्त विज्ञापनमा दरखास्त दस्तुर तिरेको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्ने र परीक्षा कार्यक्रम परिमार्जन गरी यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने प्रक्रियामा आयोग छ। आगामी दिनमा यस किसिमको समस्या आउन नदिन ठोस कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
लोकसेवा आयोगबाट प्रकाशन हुने विज्ञापनमा दरखास्त दिने उम्मेदवारको सहजता र आयोगको प्रशासनिक तथा व्यवस्थापकीय कार्य छिटोछरितो सम्पादन गर्न २०७१ सालदेखि पब्लिक सर्भिस रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (पीएसआरएमएस) अनलाइन प्रणाली सरकारी एकीकृत डाटा सेन्टरको पूर्वाधारमा होस्ट गरी सञ्चालन गर्दै आएको आयोगले जनाएको छ। यस प्रणालीबाट आयोगको कार्यसम्पादन प्रभावकारी बन्नुका साथै उम्मेदवारले दरखास्त पेस गर्ने, परीक्षा दस्तुर तिर्ने र प्रवेशपत्र प्रिन्ट गर्नेलगायतका सेवा सहज रूपमा प्रयोग गर्दै आएकोमा गत फागुन २३ गतेदेखि जीआईडीसीको स्टोरेज प्रणालीमा देखिएको समस्याले लोकसेवा आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगका अनुसार २०७९ साल मङ्सिरमा प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरहको पदको विज्ञापन, पुसमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सोसरह पदको विज्ञापन र माघमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) नायव सुब्बा वा सोसरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरणमा आयोगले पहुँच पाउन सकिएको छैन।
गत फागुन २३ गतेको उक्त घटनापछि जीआईडीसी सञ्चालन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले डाटा रिकभरीको प्रयास जारी राखेको र जीआईडीसीकै अर्को पूर्वाधारमा होस्ट गरी आयोगले अनलाइन दरखास्त प्रणाली सञ्चालन गरिरहेको छ। डाटा रिकभरीको प्रयास जारी रहेको भए पनि राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट कहिलेसम्ममा कति डाटा रिकभर हुन्छ भन्ने यकिन नभएको जानकारी आयोगलाई प्राप्त हुन आएकाले यस विषयलाई गम्भीरतापूर्वक लिई पूर्वप्रकाशित उक्त विज्ञापनका परीक्षा सञ्चालन गर्न वैकल्पिक योजनामा काम गरिरहेको आयोगका प्रवक्ता तोयानारायण सुवेदीले बताए।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

